अद्वितीय प्रतिबिम्बमा फेसन रौनक

काठमाडौं । नमुना कलेज अफ फेसन टेक्नोलोजीले ग्राजुएसन फेसन शो गरेको छ । १६औँ संस्करणको रूपमा प्रस्तुत गरिएको ‘जर्नी अफ फेसन’अन्तर्गत यस पटक ‘अद्वितीय प्रतिबिम्ब’ शीर्षकमा फेसन शो गरिएको हो ।

गत बुधबार भएको शोमा कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरसहित मोडलहरू रनवेमा उपस्थिति भएसँगै शो शुभारम्भ भएको थियो । शोमा ११ वटा विभिन्न अवधारणाबाट प्रेरित ८२ वटा विविधतायुक्त पहिरनहरूलाई प्रदर्शन गरिएको थिए ।

कलेजमै अध्ययन पूरा गरेका ८२ विद्यार्थीहरूले ती पहिरन डिजाइन गरेका थिए । हरेक प्रस्तुतिको अन्तिममा सोही कलेक्सनको मास्टरपिसका रूपमा क्रिएटिभ डिजाइनलाई र्याम्पमा उतारिएको थियो । शोमा २३ महिला र ८ पुरुष मोडलले विद्यार्थीको डिजाइनलाई प्रस्तुत गरेका थिए ।

शोको कोरियोग्राफी र निर्देशन सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए । ३ घण्टासम्म चलेको शोमा मोडलहरूले लेदर तथा फरसित प्रभावित हाय फर नेट, ओरिगामीबाट प्रेरित शैली, जेन्डर फ्लुडका अवधारणा, हेभेन्ली बडिजबाट प्रेरित शैलीहरू, पिसेस अफ ड्रिम, टाइम स्टे«टममा केन्द्रित पहिरनहरू प्रदर्शन गरेका थिए ।

यसैगरी बोटबिरुवा र तीसँग जोडिएको अन्डर ग्राउन्ड जीवन, समुद्री जीवनशैली, घृणा र प्रेमसित जोडिएका मनोभावहरू, राशिबाट प्रभावित स्वरूपहरू, नारी व्यक्तित्व र फूलको आकर्षणको समायोजनलाई पहिरनको स्वरूपमा प्रस्तुत गरिएको थियो ।

शोमा फेसन अध्यापकत्रय राजेन्द्र सिंह, निशा श्रेष्ठ र कुश्मा श्रेष्ठ, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, फोटोग्राफर राजभाइ सुवाल, गोल्यान ग्रुपका शक्ति गोल्यान, शिक्षाविद् जया प्रधान, फेसन स्टाइलिस्ट नीलिमा तामाङ, द हिडन टे«जरका दिवाकर राजकर्णिकार, फेसन डिजाइनर अनु श्रेष्ठ, फेसन उद्यमीद्वय महेश्वर श्रेष्ठ र राहुलमान शाक्य निर्णायक थिए ।

कार्यक्रममा नमुना कलेजद्वारा प्रकाशित पहिलोे फेसन क्याटलग पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. यादवराज कोइराला तथा नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरले संयुक्त रूपमा विमोचन गरेका थिए ।