दमकमा नेपथ्यको कन्सर्ट

काठमाडौं । कोभिड संक्रमणपछि सबै सांगीतिक प्रस्तुतिलाई रोकेको लोकपप व्याण्ड नेपथ्य आगामी वैशाख १ गते दमकमा घन्किने भएको छ । नेपथ्य कोभिडपछि पहिलो पटक दर्शकमाझ उपस्थित हुन लागेको हो । दमकमा नेपथ्यले पाँचौं पटक आफ्नो प्रस्तुति दिँदैछ ।

दमकको इँटाभट्टा स्कुल अर्थात् सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा नेपथ्यले आफ्ना गीत दर्शकमाझ सुनाउँदैछ । यही मैदानमा यसअघि नेपथ्यले ४ हजार बढी दर्शकलाई नचाईसकेको छ ।

नेपथ्यले यसअघि पनि दमककै फिल्म हलमा ३ वटा कन्सर्ट गरिसकेको छ । तर, विद्यालय प्राङ्गणमा खुला कन्सर्ट गर्नुअघि ५ वटा ट्रकमा काठमाडौंदेखि लोड गरेर आधुनिक मञ्चदेखि प्रकाशसँगै ध्वनि प्रणालीसमेत दमक पु¥याइएको थियो ।

ब्याण्डको व्यवस्थापन गर्दै आएको नेपालयका अनुसार पछिल्लो कन्सर्टको समयमा दमकमा धरान, विराटनगर हुँदै इलामसम्मका दर्शक आएका थिए । नेपथ्यले पछिल्लो पटक १७ फागुन २०७६ मा काठमाडौंको भृकुटीमण्डपमा कन्सर्ट गरेको थियो । उक्त कन्सर्ट एउटा गाउँको विद्यालय पुनर्निर्माणका लागि आयोजना गरिएको थियो ।

कन्सर्टको स्थानीय व्यवस्थापन नेपाली टच र ध्रुवतारा स्पोर्टिङ क्लबले गर्दै छन् । क्लबले आफ्नो स्थापनाको ३० वर्ष मनाउन लाग्दा यो कन्सर्ट आयोजना गर्न लागेको हो ।