चुनाव गीतमा चार तारे झण्डा फरर

काठमाडौंं । गायिका तथा गीतकार गायत्री थापाले सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल नेपाली कांग्रेसलाई निर्वाचनमा सघाउने उद्देश्यले काँग्रेस गीत ‘चार तारे झण्डा’ ल्याएकी छन् ।

गीत शनिबार साँझ आयोजित एक कार्यक्रममा नेपाली कांगेसका महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक गरे । कार्यक्रममा महामन्त्री शर्माले कलाकारको सिर्जना ठुलो बल हुने बताउदै ‘चार तारे झण्डा फरर’ गीतले स्थानिय चुनावमा नेपाली काँग्रेसलाई जिताउन सजिलो हुने बताए । गायिका तथा गीतकार थापाले नजिकिदै गरेको निर्वाचनमा नेपाली काँग्रेसलाई विजय प्राप्त गर्न सघाउने उद्देश्यले गीत बनाएको बताइन् ।

गीतले काँग्रेस भन्दा राम्रो पार्टी अन्य नभएको भन्दै मेचिदेखि महाकालीसम्म सबै मिलेर विपिको समाजवादको नारा साकार पार्नुपर्नेमा जोड दिएको छ । लोक, आधुनिक थुप्रै गीतमा शब्द तथा स्वर भरेकी गायिका गायत्रीलाई यो गीत गायनमा कृष्ण काफ्ले र रीता केसीले साथ दिएका छन् ।

राजकुमार बगरको संगीत रहेको गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ । जसमा विजय पुन, रीचा थापा, आरुसी मगर, जर्नादन आचार्य लगायत थुप्रै ब्यक्तिको अभिनय देख्न सकिन्छ । अजय रेग्मीको छायांकन रहेको भिडियोमा नविन घर्तीमगरको सम्पादन छ ।