काठमाडौं । गायक सुमनशेखर मानन्धरको स्वरमा रहेको उर्दु गजल ‘साम से हि दिल’ सार्वजनिक भएको छ । टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीत आइतबार वरिष्ठ चलचित्रकर्मी नीर शाह तथा पूर्व चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय रहेको छ ।
मुगुको रारामा खिचिएको गीतले हिन्दी र उर्दुभाषी पर्यटकलाई नेपाल आकर्षित गर्ने अपेक्षा राखेको गीत निर्माणमा संलग्न टिमको धारणा थियो । गीतकार तथा संगीतकार इम्तियाज वफाले गीतले नेपालको पर्यटनलाई प्रत्यक्ष फाइदा पुर्याउने विश्वास व्यक्त गरे ।
यसैगरि, गायक सुमन शेखरले भारतीय उपमहाद्विपमा बसोबास गर्ने करोडौँ हिन्दी र उर्दूभाषी जनतालाई नेपाल बोलाउने अभिप्रायसहित गीत तयार गरेको जानकारी गराए । ‘यो गीत तयार गर्न हामीलाई तीन वर्ष लाग्यो । यो गीतले कम्तिमा पनि रारा ताल हेर्न आउने दर्शकमा वृद्धि हुने हाम्रो अपेक्षा छ ,’ उनले भने, ‘भावनाको अभिव्यक्तिसँगै संगीतलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि पनि प्रयोग गर्न सकिन्छ भन्ने लागेर हामीले यो गीत हिन्दी र उर्दूमा तयार गरेका हौँ ।’
निर्देशक जनकदीप पराजुलीले टिसिरिजको च्यानलमा नेपाली कलाकार र प्राविधिकले सिर्जेको सिर्जना आएको सम्भवतः पहिलो घटना भएको जानकारी गराउँदै यसले नेपाली संगीत र कलाकारलाई भारतमा स्थापित गर्न बाटो खोल्ने अपेक्षा व्यक्त गरे । ‘टि—सिरिज जस्तो भारतकै एक नम्बर कम्पनीमा नेपाली प्राविधिक र कलाकारले गरेको काम सार्वजनिक हुनु गौरवकै कुरा हो । योसँगै गीतले पर्यटनलाई पनि केही न केही फाइदा गरोस् भन्ने हाम्रो चाहना हो,’ पराजुलीले भने ।
कार्यक्रममा गीतलाई शुभकामना दिन पुगेका वरिष्ठ चलचित्रकर्मी नीर शाहले सुमन शेखर मानन्धरका बुबासँगको सामीप्य स्मरण गर्दै सम्पूर्ण टिमको मेहनतको प्रशंसा गरेका थिए ।
नीर शाहले आफू पनि गीत संगीतको विद्यार्थी भएको बताउँदै गीत र दृश्यको संगमले उत्कृष्ट सिर्जना तयार भएको धारणा राखेका थिए ।
यसैगरि कार्यक्रममा निर्माण टिमलाई शुभकामना दिँदै पूर्व विकास बोर्ड अध्यक्ष राजकुमार राईले आफू मौलिकताको पक्षधर भए पनि प्राविधिक रुपमा बलियो गीत तयार गरेकोले यसले दीर्घकालीन रुपमा नेपाली कलाकार र प्राविधिकलाई फाइदा पुर्याउने विश्वास व्यक्त गरे ।
सन्जिव पाण्डेको संयोजन र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको गीतलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने गीतमा सम्पादन तथा भीएफएक्स धुव्रराज पराजुलीको रहेको छ ।