काठमाडौं । नेपालमा पहिलो पटक संवादसहित गीति फिल्म निर्माण हुने भएको छ । देवेन्द्र पान्डेको निर्देशनमा बन्न लागेको फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’को मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गर्नुका साथै शुभ मुहूर्त पनि गरियो । चलचित्रको मुहूर्त सट कलाकारहरु अभिनास न्यौपाने र श्रेया कार्कीले दिएका थिए । चलचित्रमा उनीहरु प्रेम जोडीको रुपमा प्रस्तुत हुनेछन् ।
सौरपानी मिडियाको ब्यानरमा निर्माण हुने फिल्मको बुधवारबाट छायांकन सुरु भएको छ । फिल्ममा मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य र सविना न्यौपानेको पनि अभिनय रहनेछ । फिल्मलाई मणि नेपाली पनेरुले निर्माण गर्नेछन् । उनले लेखेको ६ वटा लोकगीतमा फिल्म निर्माण हुन लागेको हो ।
फिल्ममा केही प्रतिशत संवाद पनि हुनेछ । क्यानडाको लागि नेपाली साँस्कृतिक दुतसमेत रहेका पुर्ण नेपालीको एकल संगीतमा रहेका फिल्मका गीतहरुमा राजु परियार, तुलसी पराजुली, देवि घर्ती, निशा देसार, धर्मेन्द्र सेवान लगायतका गायक गायिकाहरुको स्वर रहेको छ ।
यसअघि दुई फिल्मको निर्देशक गरिसकेका देवेन्द्र पाण्डेले आफूले यसअघि गरेका फिल्मभन्दा ‘मानिस ठूलो दिलले हुन्छ’ भिन्न रहने दावी गरे । सामाजिक विषयवस्तुमा आधारित भएर फिल्म बन्ने उनको भनाई छ । गीतको माध्यमबाट समाजलाई सन्देश दिने उद्देश्यले फिल्म बनाउन लागको उनी बताउँछन् । उनले यसअघि सयौं म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् ।
फिल्मको लम्बाई एक घन्टाभन्दा लामो हुने बताइएको छ । सम्भवतः संवादसहित यो लम्बाईमा यसअघि गीति फिल्म निर्माण भएका छैनन् । करीब १५ दिन छायांकन हुने फिल्मलाई उत्सव दाहालले खिच्नेछन् भने सम्पादन विकास दाहालले गर्नेछन् । फिल्म निर्माण भएपछि विभिन्न ठाउँमा च्यारिटी सहित हलमा रिलीज गर्ने निर्माण टिमको लक्ष्य छ ।