काठमाडौं । अनुप बरालको निर्देशनमा तयार भएको फिल्म ‘दोख’ को टिजर सार्वजनिक गरिएको छ । आगामी असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मको आईतबार हाइलाइटस् नेपाल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो । १ मिनेट ४८ सेकेन्ड अवधिको टिजरलाई किरण श्रेष्ठले सम्पादन गरेका हुन् ।
निर्देशक बरालका अनुसार माओवादी द्वन्द कालखण्डमा सामुदायिक बनको मुद्धालाई लिएर दुई वटा गाउँबीचको किचलोको कथा फिल्ममा प्रस्तुत गरिएको छ । फिल्मले उठाउन खोजेको कथाले नेपाली दर्शकको मन छुनेमा निर्माण टिम विश्वस्त देखिन्छ । राजन कठेत लिखित ‘दोख’मा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ ।
शैलेन्द्र डी. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् ।
फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहेका छन् । फिल्मको वितरणको जिम्मा काठमाडौँमा जिजिए ग्रुप, डिसीएन र काठमाडौँ बाहिर एफडी कम्पनीले लिएको छ ।