काठमाडौं । साहित्यकार भीमनिधी तिवारको कथा ‘झिँगेदाउ’मा आधारित रहेर निर्माण गरिएको फिल्म ‘झिँगेदाउ’को इन्डक्लाप गरिएको छ । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्मको बाँकी एक गीत ‘ए माया तिमी बिना’को छायांकन पुरासँगै इन्डक्ल्याप गरिएको हो । ललितपुरको श्रीकाली चौरमा फिल्मको बाँकी एक गीतको छायांकन गरिएको हो ।
झण्डै १५ लाख रुपैंयाँ खर्च गरिएको यो गीतको सुटिङमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्ट फिचर्ड छन् । गीतमा प्रविण बेडवाल र शान्तिश्री परियारको स्वर छ । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ ।
निर्देशक देउजाले फिल्मका लागि आफूहरुले कुनै ‘कम्प्रमाइज’ नगरेले त्यही अनुसार गीतमा खर्च गरिएको बताए । ‘कोभिड अघि नै हामीले यो गीतबाहेक सबै दृश्य खिचिसकेका थियौं । ती दृश्यका पोस्ट प्रोडक्सनको काम सकिएको छ’, उनले भने ।
कपनगढी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप भारद्वाजको पटकथा तथा संवाद, अर्जुन पोखरेलको सङ्गीत, विष्णु घिमिरेको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन छ । सुलभ, समीक्षा र सुशील निर्माताको रहेको फिल्म भदौ अन्तिम साता रिलिज हुनेछ ।