अनलाइन नाटकमा निशान विजयी

काठमाडौं । सांस्कृतिक संस्थानमा आइतबार सम्पन्न ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७/७८’मा निशान खत्रीले बाजी मारेका छन् । नाटक ‘चक्र’ (आरु फुल्यो)मार्फत् उनले पहिलो स्थान हासिल गर्दै एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा निर्मल सुवेदीको नाटक ‘अधुरो इच्छा’ र लक्ष्मी पाण्डेको नाटक ‘१५ दिन’ क्रमश दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भए । सुवेदीले ५० हजार र पाण्डेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

सांस्कृतिक संस्थानले आयोजना गरेको प्रतियोगितामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा प्रमूख निर्णायक एवं रंगकर्मीद्वय राजेन्द्र शलभ र पुस्कर गुरुङ निर्णायक रहेका थिए । प्रतियोगितामा रमिक ठकुरीको नाटक ‘बुढेसकालको साहारा’ (गोठको चिया) र सुस्मिता श्रेष्ठको नाटक ‘बा.रा.सी’ले सान्तवता पुरस्कार स्वरुप जनही १५-१५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

‘घरघरमा रंगमञ्च’ भन्ने अवधारणाका साथ देश विदेशमा रहेका प्रतिभावान नाट्य कलाकारको खोजी गर्न प्रतियोगिता आयोजना गरेको संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले बताए । ‘नाट्य क्षेत्रमा भविश्य खोजीरहेका प्रतिभाहरुलाई राष्ट्रिय मञ्च एवं अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको हो’, महाप्रबन्धक राईले भने, ‘प्रतियोगितामा उत्साहजनक सहभागिता रहयो । अर्को संस्करण अझ परिस्कृत र व्यापक रुपमा आयोजना हुने छ ।’

प्रतियोगितामा सहभागी नाटकमध्ये पहिलो चरणमा ११ वटा नाटक छनोट भएका थिए । ति ११ वटा नाटकलाई सांस्कृतिक संस्थानको युट्यव च्यानल र अन्य अनलाइन पोर्टलमा राखिएको थियो । दर्शकबाट सर्वाधिक लाइक र सेयर भएका एवं निर्णायकले दिएको अंकका आधारमा ११ बाट उत्कृष्ट ५ नाटक छनोट गरिएको थियो ।