कांग्रेसको चुनाव गीत मंसिर चार

काठमाडौं । आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचका लागि भन्दै नेपाली कांग्रेसले नयाँ चुनाव गीत ‘मंसिर चार’ सार्वजनिक गरेको छ । शनिबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।

खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सह–महामन्त्री उमाकान्त चौधरी, केन्द्रीय सदस्य रामहरी खतिवडा लगायतले गीत सार्वजनिक गरे । गीत नेपाली कांग्रेसको निकट नेपाल सांस्कृतिक संघले निर्माण गरेको हो । कार्यक्रममा मन्त्री चौधरीले ४ मंसिरको निर्वाचनलाई लक्षित गर्दै नेपाली सांस्कृतिक संघले ल्याएको गीतले नेपाली कांग्रेसलाई जिताउन र जनतामा भिजाउन उल्लेखनिय भुमिका खेल्ने बताए ।

त्यस्तै केन्द्रीय सदस्य रामहरी खतिवडाले सांस्कृतिक संघले ४ मंसिरको निर्वाचनका लागि भनेर तयार गरेको गीत आफुलाई मन परेको बताए । सांस्कृतिक संघका सभापति तीर्थ थापाले नेपाली कांग्रेसलाई स्थानिय निर्वाचनमा जिताउन यस्ता कयौ गीत ल्याएको स्मरण गर्दै ४ मंसिरको निर्वाचनमा कांग्रेसको जित सुनिस्चितताका लागि गीत निर्माण भएको बताए ।

सांस्कृतिक संघका महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दर’ निर्वाचनमा पार्टीका नेता तथा कार्यकर्तालाई जनतासमक्ष जान सजिलो होस् भनेर गीत निर्माण गरिएको बताए । रिजालको बिषेश पहलमा गीत निर्माण भएको हो । सार्वजनिक गीतमा राधिका हमाल, शशि बिक्रम थापा, गोबिन्द मधुर आचार्य, स्मृति शाही लगायतको स्वर रहेको छ भने शब्द लोकराज अधिकारीका र संगीत गोबिन्द मधुर आचार्यको रहेको छ ।

बिक्रान्त बस्नेत, शिवहरी बैरागी, राधिका हमाल, स्वस्तिका लामिछाने, विष्णु रोक्का, श्रृजना घिमिरे, सरु थपा, गान्दिप गिरी, नविन गिरी, शिव शंकर रिजाल ‘जोगिन्दर’, अर्जुन गिरी, राजेन्द्र खत्री, उत्तम थापालगायतको अभिनय गीतको भिडियामा देख्न सकिन्छ । तीर्थबहादुर थापाको निर्देशन रहेको गीतको भिडियोमा जीवन पराजुलीको छायांकन तथा उत्तर मगरको सम्पादन छ ।