रेखा थापाद्वारा उम्मेदवारी दर्ता

मोरङ । राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् ।

आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोहको रुपमा लिएको बताएकी उनले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरिन् । थापाले उम्मेदवारी दिएको मोरङ ३ मा एमालेका भानुभक्त ढकालले टिकट पाएका छन् ।

उम्मेदवारी दर्तापछि रेखा थापाले फेसबुकमा लेखेकी छन्:
मेरो राजनीतिक यात्रा समयको माग हो, आज मोरङका जनताको सेवाका लागि विगत ३० वर्षदेखि संसदमा पुगेका दलका नेताहरुले मोरङबासीका लागि गरेको काम हेर्दा, समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर युवाले गरेको विद्रोह हो । अब पनि हामी नबोले, हामीले आवाज नउठाए कसले उठाउछ ? देश बनाउन कसम खाएका नेताहरुले देश त परै जावस आफ्नो समाजको लागि सम्म पनि उत्तरदायी बन्न किन सकेनन ? किन हामी मोरङवासी सधै देशको, राजनीतिको केन्द्रविन्दु हुँदाहुँदै पनि पछि परेका छौं त ? यस्तै तमाम समस्याले गर्दा मैले, मोरङ क्षेत्र नै ३ बाट यूवा विद्रोहको रुपमा उम्मेद्वारी दिएकी छु । रंगमन्चको पर्दामा रेखा थापाको जुन खालको योगदान थियो, अब नेपाली समाजको, मोरङबासीको, आमाहरु अनि छोरीहरुका लागि विशेष योजनासहित विशेष काम गर्नेछु ।

यसपटक पैसाले भोट किन्ने प्रथाको अन्त्य हुनेछ । यसपटक जनतालाई झुट बोलेर संसद बन्ने प्रथाको अन्त्य हुनेछ । छिट्टै मैले मेरा केही योजनाहरु सहित तपाईको बिचमा आफुलाई उभ्याउने छु । यसपटक मोरङले राजनीतिक उच्च चेतना प्रदर्शन गर्नेछ, मोरङबासी राजनीतिक दाश होइनन, उच्च चेतना र परिर्वतनका संवाहक पनि हुन भनेर गतिलो जवाफ दिनेछन भन्ने विश्वासका साथ संसदिय इतिहाँसमा मोरङले परिर्वतनका लागी विद्रोह गदैछ । त्यो चेतनसिल विद्रोहमा म सम्पुर्ण आमा बुवा दाजुभाई दिदिबहिनीहरुले दिनुभएको साथ र हातलाई म सधै उच्च सम्मान गर्ने छु । मोरङबासीको जित सुनिश्चित छ ।