काठमाडौं । आस्था कला केन्द्रले स्वर सम्राट नारायण गोपालको ३२ औं पुण्य स्मृतिमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । नारायण गोपाल संगीत कोषका महासचिब दीपक केसीको प्रमुख आतिथ्यतामा भएको ‘सम्झनामा नारायण गोपालु कार्यक्रममा एक दर्जन भन्दा बढी गायक गायिकाहरुले नारायण गोपालद्धारा स्वरबद्ध गीत गाएर उनको सम्झना गरेका थिए ।
कार्यक्रममा गायिका गीता पाण्डेले ’यति धेरै माया दिई’ बोलको गीत गाइन् । यसैगरी राजेश कुमार श्रेष्ठ, सन्जिब आले, डेकेन्द्र मेङहाङ किशोर बिश्वकर्मा, समिर लामा, अनिल सुनाम, राम बहादुर सुनार, प्रितम गुरुङ, आकृति पौडेल, सुधा शेर्पा लगायत एक दर्जन भन्दा बढी गायक गायिकाहरुले नारायण गोपालद्धारा स्वरबद्ध गीत गाएका थिए ।
सन्जिव आलेले ’मैले पुण्य मन पराए’ प्रस्तुत गर्दा माहोल निकै भावुक बनेको थियो । त्यस्तै ’लुकु लुकु लाग्यो मलाई ’ गीत राजेश कुमार श्रेष्ठ र गीता पाण्डेले गाए ।
कार्यक्रममा पोखिएर घाम को झुल्को, तिम्रो जस्तो मुटु, मलाई नसोध, पर्खि बसें आउला भनि, केहि मिठो बात गर, मान्छेको माया यहाँ, आज भोलि हरेक साझ लगायत गीतहरु गुञ्जिएका थिए ।
कार्यक्रममा आस्था कला केन्द्रका निर्देशक रमेश थापाले नेपाली संगीतको श्रीवृद्धिमा नारायण गोपालले दिएको योगदानको चर्चा गर्दै उनको सम्झनामा कार्यक्रम गर्न पाउदा गर्व महसुस गरेको बताए ।
बाबु आशागोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंको किलागलमा नारायण गोपालको जन्म भएको थियो । उनको निधन २०४७ साल मंसिर १९ गते राति ९ बजे बीर अस्पतालमा भएको थियो ।