विजय भन्छन्–अन्तिम संस्कार बुवाको अन्तिम उपहार

काठमाडौं । वरिष्ठ क्याप्टेन रहेका अभिनेता विजय लामाले फिल्म ‘अन्तिम संस्कार’ बजारमा आइरहेका फिल्मभन्दा फरक रहेको दाबी गरेका छन् । निर्माता, निर्देशक एवं कलाकारले समेत निकै चुनौती मोलेर फिल्ममा काम गरेको र एउटा उत्कृष्ट फिल्म बनेको उनले बताए ।

आफूले हरेक फिल्ममा केही फरक खोज्ने गरेको र ‘अन्तिम संस्कार’मा त्यो कुरा पाए पछि काम गरेको अभिनेता लामाले बताए । ‘कलाकार भएपछि केही फरक गर्नुपर्छ । केही चुनौती मोल्न सक्नुपर्छ’ उनले भने, ‘यो खालको फिल्ममा काम गर्न जो–कोही नेपाली कलाकारले आँट गर्न सक्दैनन् ।’

‘अन्तिम संस्कार’लाई लण्डनमा फिल्म मेकिङ पढेर आएका प्रदीप शाहीले निर्देशन गरेका हुन् । निर्देशकको केही समयको रिसर्च, कलाकारको वर्कशप पश्चातमात्रै फिल्म छायांकनमा गएको थियो । फिल्मका लागि अभिनेता लामाले २० केजी तौल घटाएको स्मरण गरे ।
हिमालपारीको जिल्ला मुस्ताङमा माइनस डिग्री सेल्सीयसमा फिल्मको छायांकन गरिएको थियो । दिनको १८ देखि २१ घण्टासम्म खटिएर फिल्मको छायांकन गरिएकोसमेत अभिनेता लामाले स्मरण गरे ।

अभिनेता लामाले आफूले बुवाको अन्तिम संस्कार गरिरहेको समयमा ‘अन्तिम संस्कार’ फिल्म साइन गरेका थिए । सोहीकारण आफ्नो लागि यस फिल्म भावनात्मक हिसाबले पनि विशेष रहेको उनको भनाई छ । ‘मलाई बुवाले नै फिल्म क्षेत्रमा ल्याउनुभएको थियो । उहाँ संसारबाट बिदा हुँदा पनि मलाई फिल्म दिएर जानुभयो । ‘अन्तिम संस्कार’लाई म मेरो बुवाले दिएको अन्तिम उपहारका रुपमा लिएको छु’ लामा भन्छन् ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्ममा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता छन् । विनोद सुवेदी ‘क्षितिज’ निर्माता रहेको फिल्म सामाजिक एवम् सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिसयूज’को कथालाई फिल्ममा समावेश गरिएको छ । फिल्ममा अभिनेता लामालाई धेरैवटा क्यारेक्टरमा पाउन सकिन्छ ।

फिल्ममा विजयकाअलावा दियापुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङलगायतको अभिनय छ ।