साहित्यकारले मनपराए निरमाया

काठमाडौँ। नेपाल स्रष्टा समाजले चलचित्र विकास बोर्डको हलमा फिल्म ‘निरमाया’ को विशेष प्रदर्शन गरेको छ । साहित्यकारहरूका लागि प्रदर्शन गरिएको यस फिल्ममा जातीय विभेद, कुप्रथा र छुवाछुतको विषय समेटिएको छ ।

समान र सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उचनिचको फरक हटाउनुपर्ने जस्ता विषयलाई फिल्ममा देखाइएको छ । कला र सिपको राम्रो संयोजन रहेको फिल्ममा महिला र पुरुष दुई जातिमात्र रहेको र सबैको रगत रातो हुने सन्देश दिइएको छ ।

फिल्म हेरी सके पश्चात साहित्यकारहरु तुलसी दिवस, नगेन्द्रराज शर्मा, राधेश्याम लेकाली, राजेन्द्र शलभ, पवन आलोक, श्रीओम श्रेष्ठ रोदन, डा. दामोदर पुडासैनी, मधु पाठकलगायतले फिल्म राम्रो लागेको प्रतिक्रिया दिएका थिए ।

अनन्तप्रसाद तिमल्सिना प्रस्तुतकर्ता रहेको फिल्ममा रमेश कोइरालाको निर्देशन छ । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् ।

फिल्ममा रमेश बुढाथोकी,लय संग्रौला,जे।एन।घिमिरे,जेबी डिसी,अजित लामिछाने,प्रतिषा रिजाल,सम्रिद्दी पौडेल, रमेश अधिकारि,अनीता केसी,गोपाल ढकाल,रामबाबु रेग्मी लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्ममा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ ।

रवी कोइराला र जीवन पराजुलीको छायांकन गरेको फिल्मको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने फिल्ममा कविराज गहतराजको कोरियोग्राफी,अशोक खड्काको द्वन्द,कमल अधिकारी,रिमेश कुमारको संगीत रहेको छ। बिनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायाँकन सिन्धुली,काभ्रे र रामेछापमा गरिएको हो ।