पशुपतिप्रसाद २ः भस्मे डनको मुहुर्त

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने फिल्म ‘पशुपतिप्रसाद २ः भष्मे डन’को मुहूर्त गरिएको छ । शुक्रबार पशुपतिनाथ मन्दिरको आँगनमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो ।

फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर र वर्षा शिवाकोटीको अभिनय रहनेछ । निर्देशक खनालले फिल्ममा वर्षा ‘सरप्राइज’ रहेको बताए ।

आगामी चैत १० गतेबाट छायांकन सुरु हुन लागेको फिल्म खगेन्द्र लामिछानेको लेखन तथा निर्माण छ । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने फिल्म टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ । आगामी बडा दशैंको फूलपातीबाट फिल्म प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा विपिन कार्कीले निर्वाह गरेको भष्मे डन मा केन्द्रित रहेर फिल्म बन्नेछ । ७ वर्षको अवधिमा भष्मे डनको जीवनमा आएका विभिन्न उतारचढावलाई फिल्ममा प्रस्तुत गरिनेछ । फिल्मको छायांकन सेड्युल ३० दिनको राखिएको छ ।