काठमाडौँ। निर्माण घोषणादेखि नै चर्चामा रहेको नेपाली फिल्म ‘रङ्गेली ग्याङ्स्टर्स’ नाम परिमार्जन गरी ‘रङ्गेली’ राखिएको छ । निर्माण टीमले एक प्रेस वक्तव्य जारी गर्दै यसको नाम परिमार्जन गरेको जानकारी गराएको छ ।
वक्तव्यमा शीर्षकमा गरिएको यो परिमार्जनले हाम्रो समाज भित्र सकारात्मकता, एकता र सम्मानको वातावरण कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ । ‘यस फिल्मको छायाङ्कन हुने स्थान मोरङ जिल्लाको रङ्गेलीमा भएको आपसी समझदारीबाट शीर्षक परिमार्जनको निर्णय गरिएको हो । त्यहाँका स्थानीय समुदायका अग्रजहरू तथा स्थानीय निकायबाट यस फिल्मको शीर्षकमा परिमार्जनको लागि आग्रह गरिएको थियो । उहाँहरूको आग्रहलाई सम्मान गर्दै शीर्षक परिमार्जन गरिएको हो । यद्यपि, फिल्मको स्क्रिप्टमा कुनै परिमार्जन गरिएको छैन ।’ विज्ञप्तीमा भनिएको छ ।
साथै, वक्तव्यमार्फत फिल्मको रिलिज महाशिवरात्रीको अवसरमा मिति २०८० सालको फागुन २५ गतेलाई औपचारिक रुपमा तोकिएको छ । यस फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा लगायतको प्रमुख भूमिका रहनेछ । आगामी भदौ २० गतेबाट फिल्म छायाङ्कनमा जानेछ ।
फिल्मका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन् । कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । यसमा निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई बशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । फिल्ममा सुशन प्रजापतिको छायांकन हुनेछ ।