काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ आगामी कार्तिक ४ गतेबाट नेपालसँगै विश्वभर रिलिज हुँदैछ । फिल्मलाई लिएर दर्शकमाझ उच्च हाइप बनेको छ ।
नेपालमा मात्र नभएर विश्वका विभिन्न देशमा समेत फिल्मप्रति दर्शकको हाइप उच्च देखिएकाले वितरकले रिलिजभन्दा एक महिना अगाडी नै अग्रीम टिकट बुकिङ खुलाउन थालेका छन् । अष्ट्रेलिया, अमेरिका, जापान, पोर्चुगललगायत विभिन्न देशमा सिनेमाका लागि अग्रीम टिकट बुकिङका लागि शो खोलिएका हुन् ।
नेपाली फिल्मप्रति देखिएको यो क्रेजले नेपालमा मात्र नभएर विदेशी बजारसमेत सिनेमाले बम्पर ओपनिङ गर्ने संकेत देखिएको छ । फिल्मको मेलबर्न प्रिमियरको तालिका समेत सार्वजनिक भैसकेको छ । मेलर्वनको चाइना टाउनमा फिल्मको प्रिमियर अक्टोबर २३ तारिखमा हुँदैछ ।
यस्तै, फिल्मको २५ अक्टोबर, ३० अक्टोबर र ५ नोभेम्बरका लागिसमेत अग्रीम टिकट बुकिङको लागि शो खुलिसेको छ । यता जापानका लागि पनि अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । जापानमा अक्टोबर २७ मा केयोटो र ओसाकामा रिलिज हुनेछ भने अक्टोबर ३० मा कोबेमा रिलिज हुने पक्का भएको हो ।
युरोपको बेल्जियम लगायतका देशमा पनि फिल्मले आक्रामक सुरुवात गर्ने देखिएको छ । अक्टोबर २१ बाट नै बेल्जियमका ५ वटा शहरमा फिल्मको शो नै सुरु हुँदैछ । अक्टोबर २३ तारिखसम्मका लागि बेल्जियममा शो खुलिसकेको छ । ओभरसिज वितरकले फिल्मको चाँडै अमेरिका, क्यानडा, युरोपका अन्य देश र मिडिल इष्ट लगायतका क्षेत्रमा पनि अग्रीम टिकट बुकिङ खोल्ने तयारी भैरहेको जानकारी दिएका छन् ।
फिल्मले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथालाई चित्रण गर्नेछ ।
फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।
फिल्म नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।