काठमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोलीले पक्राउ गरेको हो। प्रहरीले साँगाबाट साँझ ५ बजे नियन्त्रणमा लिई अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार केसीमाथि आपराधिक विश्वासघात गरेको भन्दै उजुरी परेको थियो ।
फिल्म ‘रावायण’ निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले आफ्नो फिल्म खेल्नका लागि बैंक ट्रान्सफरमार्फत १० लाख रुपैंयाँ लिए पनि अन्तिममा खाएर फिल्म खेल्न नमानेको भन्दै उजुरी दिएकी थिइन् । राठौरका अनुसार उजुरीमा यही फिल्मका लागि भनेर १ करोड पाँच लाख रुपैंयाँ बजारमा गइसकेको उल्लेख छ ।
‘पैसा लगेर सम्झौता नगरेको र सुटिङमा पनि नआएको भन्ने उजुरी परेपछि हामीले दुबै पक्षलाई छलफलका लागि बोलाएका थियौं,’एसएसपी राठौरेले भने,‘पटक–पटक बोलाउँदा पनि केसी आउनुभएन।’
केसी छलफलमा नआएपछि अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरी हिरासतमा राखिएको राठौरले जानकारी दिए।