दसैँमा प्रदर्शन भएका फिल्मलाई दर्शकको साथ

काठमाडौँ । नेपाली फिल्मको लागि दसैँ राम्रो समय मानिन्छ । दसैँ लक्षित गर्दै प्रदर्शन गरिएका फिल्मले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । त्यसैले पनि यो समयमा फिल्मलाई दर्शकसम्म पु¥याउन निर्माता लागिपर्ने गरेका छन् । वितरक करण श्रेष्ठले चाडपर्वको समयमा दसैँ विशेष हुने बताए ।

‘अन्य चाडपर्वको तुलनामा दसैँमा काठमाडौँ र मोफसलमा फिल्म हेर्न आउने दर्शकको चाप वढेको पाइन्छ । यस्तो समयमा विशेषत पारिवारिक कथावस्तुमा निर्माण गरिएका फिल्मले बढी दर्शक पाउने गरेका छन्’, वितरक श्रेष्ठले भने । उनले वितरण गरिरहेको ‘पशुपति प्रसाद २: भष्मे डन’ ले पहिलो दिन रु दुई करोडको हाराहारीमा व्यापार गरेको जानकारी दिए ।

‘नेपालमा पारिवारिक विषयमा बनेका फिल्म वा परिवारसँगै फिल्म भवनमा पुगेर हेर्ने फिल्मको व्यापार राम्रो हुने गरेको छ । त्यसैले त्यस्ता फिल्म दसैँको समयमा प्रदर्शन गर्नु उपयुक्त हुन्छ’, उनले भने ।

ओटीटी (ओभर द टप) प्रति कोभिड १९ नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका समयमा आकर्षण बढेपछि फिल्म भवनमा दर्शकको सङ्ख्या घट्ने अनुमान गरिएको थियो । तर अहिले दर्शकको आकर्षण पुनः फिल्म भवनमा बढेको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले बताए ।

‘नेपालको मौलिक विषयमा फिल्म निर्माण गर्नसके दर्शकले साथ दिनुहुन्छ भन्ने प्रमणित भएको छ । किनकि व्यापारमा रेकर्ड बनाउन सफल फिल्ममा मौलिकता पाइन्छ’, कार्यकारी निर्माता बानियाँले भने । उनले नेपाली फिल्महरू विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न सक्षम भइसकेको बताए ।