निश्चल भन्छन्–दिमाग खराब सेटमा आगो लाग्दा दिमाग शुन्य भयो

काठमाडौं । फिल्मको सुटिङ भइरहँदा सेटमा कहिलेकाहीँ नसोचेका घटना भइदिन्छन् । जुन घटनाले बढी तनाव निर्माता र निर्देशकलाई दिने गर्छ । यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘दिमाग खराब’को सेटमा पनि एउटा यस्तै घटना घट्यो, जुन अप्रत्याशित थियो ।
फिल्मको सार्वजनिक ट्रेलरको एक दृश्यमा आगलागी भएको घर देखाइएको छ । त्यही दृश्य छायांकन गर्ने समयमा अचानक आगलागी भएपछि फिल्मको टिमलाई निकै तनाव भएको थियो ।

निर्देशक निश्चलका अनुसार फिल्ममा प्रमुख पात्र खगेन्द्र लामिछानेको घरमा आगलागी भएको एक दृश्य छ । ‘फिल्म खिचिरहँदा जसरी योजना बनाइएको हुन्छ, त्यो अनुसार नहुँदा केही असहज हुन्छ । यो फिल्ममा पनि खगेन्द्रको घर जल्नुपर्ने थियो । त्यसका लागि घरको सेट तयार पारिएको थियो । आगलागी भएपछि त्यसलाई निभाउनेदेखि लिएर सुरक्षाका लागि सबै कुराहरु तम्तयारी अवस्थामा राखेका थियौं’, उनले भने, ‘तर क्यामरा अन नभईकन घरमा अचानक आगो लाग्यो । कहाँबाट कसरी आगो लाग्यो भन्ने भेउ नै पाइएन । आगो लागेपछि के गर्ने, कसो गर्ने भन्ने भयो । किनकी नयाँ सेटमा घर बनाउँदा अझै दुई तीन दिन समय लाग्ने थियो । चाहिने कुरा खिच्नै नपाएपछि बाँकी जलेको दृश्य मात्र खिच्यौं ।’

निश्चलले घरमा अचानक आगो लागेपछि आफूहरुले कतै कमजोरी पो गरिएको हा कि भन्ने कुरा पनि सोचेको खुलाए । ‘आगो लागेको देख्दा दिमाग शुन्य भयो । किनकी त्यो नसोचेको घटना थियो’, उनी भन्छन् ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । फिल्मका निर्माता रौनकविक्रम कँडेल हुन् ।