लुसुमा नवराजको निर्देशकीय डेब्यू

काठमाडौं । कलाकार नवराज श्रेष्ठले फिल्म ‘लुसु’मार्फत निर्देशनमा डेब्यू गर्ने भएका छन् । दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता शेखर लामा रहेका छन् ।
टिमले फिल्म निर्माणका लागि गत विहिबार चलचित्र विकास बोर्डबाट इजाजत समेत प्राप्त गरिसकेको छ । फिल्ममा पदम विश्वकर्माको कथा रहनेछ ।

नेपाल र अमेरिकामा छायांकन हुने सामाजिक कथाको फिल्मको यतिबेला प्री–प्रोडक्सनको काम भइरहेको छ । निर्देशक श्रेष्ठका अनुसार फागुनबाट छायांकनमा जाने फिल्मका लागि मुख्य कलाकार र प्राविधिकहरु केही दिनमा सार्वजनिक गरिनेछ ।

‘अभिनयबाट संगालेको अनुभव र सिकेको ज्ञानलाई निर्देशनमा सदुपयोग गर्नेछु’, निर्देशक श्रेष्ठले भने, ‘फिल्मको कथा सुन्दा यो कथा आफैले भन्नु पर्छ भन्ने महशुस भएर निर्देशनमा आउन लागेको हुँ ।’

सन् १९९४ को फिल्म ‘बादल’बाट अभिनय यात्रा शुरु गरेका श्रेष्ठले ‘जन्मभूमी’, ‘गुड लक’, ‘स्काउट’ लगायतका फिल्ममा अभिनय गरेका छन् । यस्तै थुप्रै म्युजिक भिडियो तथा बिज्ञापनमा पनि श्रेष्ठले अभिनय गरेका छन् ।