पर्वतको कथामा मोदीबेनी घोषणा

काठमाडौं । माघे सक्रान्तीको अवसर पारी नेपाली फिल्म ‘मोदीबेनी’को घोषणा गरिएको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्ममा शंकर कोइरालाको निर्देशन रहनेछ । फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माता छन् ।

म्युजिक भिडियो, विज्ञापन तथा सिरिज निर्माण गर्दै आइरहेको निर्माण कम्पनी डिनेस्ट इन्टरटेनमेन्टको वार्षिकोत्सवको अवसर फिल्मको घोषणा गरिएको हो ।

निर्देशक केसीका अनुसार फिल्मले ४०–४५ वर्ष अघिको कथा र हालको कथालाई देखाउनेछ । ‘फिल्मले पर्वतको मोदिबेनी क्षेत्रको कथा भन्नेछ’, उनले भने । आनन्दविक्रम क्षेत्रीको लेखन रहने फिल्म यही माघ महिनामा फ्लोरमा जानेछ । निर्माण पक्षले फिल्ममा अभिनय गर्ने कलाकारको नाम सार्वजनिक गरेको छैन ।

निर्देशक कोइरालाले २० वर्षदेखि फिल्म तथा म्युजिक भिडियो सम्पादन र १० वर्षयता विज्ञापन, वृत्तचित्र, म्युजिक भिडियो तथा सिरिज निर्देशन र सम्पादन गर्दै आएका छन् । उनले निर्देशक तुलसी घिमिरेका केही फिल्म सम्पादन गरेका छन् ।