डर र शक्तिको खेलमा रङ्गेली ट्रेलर

काठमाडौं । यही फागुन २५ गते महाशिवरात्रीको दिन रिलिज हुने फिल्म ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसको ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

ट्रेलरलाई डर र शक्तिको खेलको रूपमा प्रस्तुत गरिएको छ । नेपालको तराई क्षेत्रमा घटेका विविध घटनाहरू र आयामहरूलाई देखाइएका ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रविण खतिवडालगायतका कलाकारलाई स्थान दिइएको छ ।

कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक अर्जुन सुवेदीले दर्शकले चाहेको जस्तो फिल्म बनाउन खोजिएको हो । अभिनेता रुपेश झाले फिल्मले तराईको कथा मात्र नभनी त्यहाँको संस्कृति पनि झल्काउने बताए । अभिनेता प्रवीण खतिवडाले फिल्म बनाउनु र रिलिज गर्नु सहज नभएको बताउँदै दर्शकको साथको अपेक्षा गरेको जनाए ।

फिल्ममा अर्जुन सुवेदीको लेखन तथा निर्देशन छ । यसमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । फिल्मका गीतमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार  चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।