काठमाडौं । राजबहादुर सानेको निर्देशनमा निर्माण भईरहेको फिल्म ‘सिटामोल’को छायांकन सकिएको छ । निर्देशक सानेले काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सम्पूर्ण छायांकन सिन्धुलीमा सकिएको बताए ।
फिल्मको छायांकन २५ दिनसम्म सिन्धुलीमा गरिएको थियो । निर्देशक सानेले फिल्मको छायांकन सहज वातावरणमा रमाइलोसँग सकिएकाले फिल्म राम्रो बनेको बताए । अहिलेको अवस्थामा नै काम भएको खण्डमा तीजमा फिल्म रिलिज लक्ष्य राखिएको निर्माण टिमले जानकारी दिएको छ ।
फिल्मको छायांकन सकिएपछि निर्माण टिमले मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्वीर समेत सार्वजनिक गरेको छ । माओवादी जनयुद्धको कथा उठान गरेको फिल्ममा उनीहरु श्रीमान–श्रीमतीको भूमिकामा छन् ।
तुलसी देवी फिल्मस को ब्यानरमा निर्माण भएको फिल्ममा सौगातले जनयुद्धको घाइतेको भुमिका निर्वाह गरेका छन् । फिल्ममा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।
फिल्मको कथा निर्देशक साने स्वंयमले लेखेका हुन् । बाबुल गिरीको संगीत रहेको फिल्ममा दिव्य सुवेदीको छायांकन छ । फिल्ममा भुगोलकुमार कार्की निर्माता, रामचन्द्र उपाध्याय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजयकुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन् ।