काठमाडौं । ‘धेरै भो’, ‘रुमाल लुकाई लुकाई खेल्दा’, ‘हुँदैन कसैको मुटू ढुङ्गाको’ लगायतका गीतमार्फत गायनमा स्थापित गायक सञ्जय किशोर श्रेष्ठले झन्डै दुई दशकपछि नयाँ गीत ‘तिमी जस्तै’ सार्वजनिक गरेका छन् । उनले बिहिबार साँझ काठमाडौँ जमलस्थित विश्वज्योति चलचित्र भवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै गायनमा फर्किएको बताए ।
‘पुनः गायनमा सक्रियता बढाउने जमर्को गरेको छु । जेम्स दाईका कारण यो सम्भव भएको हो । आश छ, पहिला झैँ माया पाउने छु’, गायक श्रेष्ठले भने,‘समय अनुसार आफूलाई परिमार्जित गर्ने कोसिश गरेको छु । आगामी दिनमा पनि समय सापेक्ष गीत सार्वजनिक गर्नेछु ।’
उनले सार्वजनिक गरेको गीतमा जेम्स प्रधानको शब्द र सङ्गीत रहेको छ भने गीतको भिडियो पनि जेम्सले नै निर्देशन गरेका हुन् । भिडियोमा गायक श्रेष्ठ नै देखिएका छन् । उनी नेपाल आएपछि गायक तथा सङ्गीतकार जेम्स प्रधानसँग भेट भएपछि साङ्गीतिक सहकार्य जुटेको हो ।
‘मैले गीतलाई तयार गरेर राखेको थिएँ । एकदिन गायक श्रेष्ठ आएर सुने । यही गीतमार्फत पुनः गायनमा सक्रियता दिन्छु भनेपछि हामीले सहकार्य गरेका हौँ’, सङ्गीतकार प्रधानले भने,‘यो गीतको श्रव्यदृश्य पनि मैले नै तयार गरेको छु । हामीले धेरै सोचेर गीतको मर्मअनुसार दृश्याङ्कन गरेका हौँ ।’
कार्यक्रममा उपस्थित गायक शशी गुरुङले आफू झैँ दुई दशक पश्चात सक्रियता देखाएको भन्दै गायक श्रेष्ठलाई शुभकामना दिए । उनले भने,‘म पनि बाइस वर्षपछि केही दिन अगाडि मात्र नयाँ गीत लिएर आएँ । संजयलाई पनि निरन्तरता दिनुपर्छ भन्न चाहन्छु । उनको गायन शैली र गायनको मिठास गज्जब छ ।’
अर्का गायक भीम तुलाधरले गायक श्रेष्ठको आवाज अन्य भन्दा छुटै मिठास भएको बताए । ‘संजयले दुई दशक अगाडि पाएको चर्चा लोभ लाग्दो थियो । विविध कारणले उसले पाउनु पर्ने सफलता पाएन । अमेरिका पुगेर पनि नेपाल फर्किएर सङ्गीतमा भविष्य देख्नु सुखद कुरा हो । उसलाई निरन्तरताको कामना’, गायक तुलाधरले भने ।
कार्यक्रममा गायक बबिन प्रधान, कविन्द्र श्रेष्ठ, डिजाइनर अनिल स्थापित, सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले गायक श्रेष्ठको गायन यात्राको बारेमा चर्चा गर्दै शुभकामना दिएका थिए । सार्वजानिक भिडियोमा जेसिका प्रधानको रङ्ग संयोजन र सम्पादन, जेम्स प्रधानको शब्द र सङ्गीत, श्याम तामाङले छायाङ्कन गरेका हुन् ।