द रेड सुटकेसको फस्ट लुक

काठमाडौं । आगामी ३० चैतमा रिलिज हुने नेपाली फिल्म ‘द रेड सुटकेस’को फस्ट लुक सार्वजनिक भएको छ । मंगलबार रिलिज गरिएको फस्ट लुक्समा फिल्ममा मुख्य कलाकार अभिनेताद्वय सौगात मल्ल, विपिन कार्की र अभिनेत्री सृष्टि श्रेष्ठलाई समेटिएको छ ।

फस्टलुकमा पहाडी क्षेत्रको राजमार्ग (घुम्तीबाटो) लाई देखाईएको छ । पोष्टरमा अभिनेत्री सृष्टि ग्रामिण महिलाको भूमिकामा छिन् । यस्तै सौगात र विपिन कामकाजी युवाको रुपमा देखिएका छन् ।

फिल्ममा तीन कलाकारसँगै प्रविण खतिवडा पनि मुख्य भूमिकामा छन् । फिल्ममा फिडेल देवकोटाको निर्देशन छ । गत सेप्टेम्बरमा भेनिस फिल्म फेस्टिबलमा फिल्मको विश्वव्यापी प्रिमियर गरिएको थियो । फेस्टिभलमा यसले दुई अवार्ड जितेको यिथो ।

यस्तै संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि ठाउँमा पनि यो फिल्म छनौट भएको छ ।

निर्देशक फिडेलले द रेड सुटकेस मध्यम तथा न्युन वर्गीय नेपाली समाजका युवाहरुको वर्तमान कथा रहेको बताए । उनले मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर फिल्मको कथा तयार पारिएको जनाए ।

फिल्ममा ‘ऐना झ्यालको पुलती’का निर्माता रामकृष्ण पोखरेलको लगानी छ । श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह–निर्माताको रुपमा रहेका छन् । सुशन प्रजापतिको छायांकन रहेको यो फिल्म समन अलभितिगाले सम्पादन गरेका हुन् ।