मुम्बई (एजेन्सी) । भारतीय अभिनेता, लेखक तथा निर्देशक नीरज बोराको बिहीबार मुम्बईमा निधन भएको छ । बोरा सन् २०१६ को अक्टोबरदेखि मस्तिष्कघातका कारण कोमामा थिए । नीरजले ‘फिर हेराफेरि’ र ‘खिलाडी ४२०’को निर्देशन गरेका थिए भने ‘अकेले हम अकेले तुम’, ‘बादशाह’, ‘आवारा पागल दिवाना’, ‘अजनबी’ आदि फिल्ममा लेखकको जिम्मेवारी सम्हालेका थिए ।
अभिनेताको रुपमा फिल्ममा संलग्न भएका बोराले टिभी कार्यक्रममा ‘सर्कस’बाट अभिनय सुरु गरेका थिए । सन् १९८४ मा आएको ‘होली’ ठूलो पर्दामा उनको पहिलो फिल्म थियो ।निर्देशक केतन मेहता र बोरा सहपाठी थिएन । ‘होली’ मेहताले नै निर्देशन गरेको फिल्म थियो । मेहताले बोरा अभिनेता,निर्देशक र लेखकको रुपमा बलिउड उद्योगमा स्मरणीय रहेको बताए । ‘उनको सेन्स अफ ह्युमर तेज र अनौठो थियो । उनी दुनियालाई फरक नजरले हेर्थे,’ मेहताले भने ।
बोराको खास मित्रता निर्देशक प्रिदर्शनसँग पनि थियो । दुवैको भेट ‘बिरासत’ फिल्मको सेटमा भएको थियो । प्रियदर्शनले भने , ‘हामी दुवैको सोच उस्तै उस्तै थियो । उनले सदा मसँग हिन्दी फिल्ममा ह्युमरको कमी भएको बताउने गरेका थिए । उनकै कारणले म कमेडी फिल्म निर्देशनमा आएको हुँ । ‘हेराफेरि’को बनाउने सोच पनि उनकै थियो ।’ लेखकको रुपमा पनि उनले परेश रावल, जोनी लिवर जस्ता अभिनेताका लागि यादगार चरित्र निर्माण गरेका थिए ।