कार्तिक ९ मा गुन्यो चोलो

काठमाडौं । अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित फिल्म ‘गुन्यो चोलो–कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ कार्तिक ९ अर्थात अक्टोबर २५ मा रिलिज हुने भएको छ । निर्माण टिमले बिहीवार नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै फिल्म रिलिज मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा नाजिरलाई वान पिसमा देखाइएको छ । नाजिरको लुक्स र पोस्टरले नै फिल्मको कथावस्तु बोल्छ। यो फिल्मका लागि नाजिरले १६ केजी तौल घटाएका थिए ।

पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा छन। उनले एउटा हातमा विग (नक्कली कपाल) बोकेका छन भने अर्को हातमा हिल्स बोकेका छन। उनको शरीरमा कहिँ कतै चोटको निशान छ। उक्त चोटको निशानले नाजिरको पिडा देखाउँछ। नाखमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ। पोस्टरका अनुसार फिल्ममा नाजिरको पात्रको नाम ‘गुलाबी’ राखिएको छ।

फिल्ममा समुन्द्र भट्टको निर्देशन छ । निर्देशक भट्टले फिल्मको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरु निलहिरा समाज र मितीनी नेपालसँँग पनि परामर्श गरेकी थिइन।

अमेरिकी कम्पनी भिजन ईन्टरटेन्मेन्ट र दि स्काई ओसन ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मले पारलैंङ्गिकताको कथालाई उठान गरेको छ। फिल्ममा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ। फिल्ममा नाजिरको अलावा संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय छ ।

फिल्मको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखी ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा नेपाल बाहिर गरिएको छ। फिल्ममा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन भने ब्याकग्राउन्ड म्युजिकको सम्पुर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन। लिजाले स्वर भरेको वर्ष २०२४ कै बहुप्रतिक्षित हलिउड फिल्म ‘ग्ल्याडिएटर–२’ यहीँ डिसेम्बरमा आउँदैछ।

नेपालको पहिलो पुर्णरुपको ट्रान्स स्टोरीमा निर्मित यो फिल्म नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको हो। फिल्ममा आकाश बुढाथोकी र भिभन्से जानुबोनको लगानी छ। फिल्मको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन। भने अनुपम श्रेष्ठ फिल्मका सहयोगी निर्माता हुन।

आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना, विजय बस्यालको प्रोड्क्सन डिजाईन र सुरक्षा भट्टराईको मिडिया कोर्डिनेसन रहेको छ। फिल्ममा पुष्कर लामा प्रोडक्सन हेडमा र राम भण्डारी क्रिएटिभ हेडमा छन।