घरज्वाइँका लागि जापान जाँदै मिरुना

काठमाडौं । अभिनेत्री मिरुना मगर जापान जाने भएकी छन् । अगस्ट ११ तारिख आइतबार राजधानी टोकियोमा प्रदर्शन हुन लागेको फिल्म ‘घरज्वाइँ’को प्रदर्शनमा सहभागी हुन उनी जापान जान लागेकी हुन् ।

नेपाल मगर संघ जापानको आयोजनामा ‘घरज्वाइँ’ जापानभर प्रदर्शन हुनेछ । अगस्ट ११ तारिखमा टोकियो, १४ तारिखमा नागोया र ओसाका सहरमा एकै चोटी सिनेमाको शो हुनेछ । सिजुओका, फुकुओका, क्योटो, हिरोसिमा, ओकिनावा लगायतका सहरमा पनि ‘घरज्वाइँ’ प्रदर्शन हुनेछ ।

करीब दुई लाख नेपाली रहेको जापानमा मिरुना मगरलाई पनि चाहिन्छ भन्ने नेपाली दर्शकहरुको मागलाई सम्बोधन सोरुप उनलाई निमन्त्रणा गरिएको संघका अध्यक्ष रामहरी खपाङ्गी मगरले बताए । जापानका लागी नेपाली राजदुत दुर्गा बहादुर सुवेदीको सपरिवार उपस्थित हुने शोमा एनआरएनए लगायत विभिन्न संघसंस्थाको उपस्थिति रहने जानकारी नेपाल मगर संघ जापानले दिएको छ ।

रुकुम पुर्वको तकसेरा, बाच्चिगाउँ र लुगुम गाउँमा छयांकन गरिएको फिल्मले त्यहाँको मगर समुदायमा प्रचलित घरज्वाइँ प्रथालाई उठान गरेको छ । अनिल बुढा मगरको निर्देशन र जनक घर्ति मगरको निर्माण रहेको फिल्ममा दयाहाङ राई र मिरुना मगरको मुख्य रहेको छ । गत असार २८ गतेबाट नेपालमा प्रदर्शन भैरहेको फिल्म आज शुक्रबारबाट ५ औं हप्तामा प्रवेश गरेको छ । नेपाल बाहेक विभिन्न देशहरुमा पनि फिल्म चलिरहेको छ ।