रिमैका लागि नेपाल आइन रिश्मा

काठमाडौं । कबड्डी शृखंलाकी मैंया अर्थात् रिश्मा गुरुङ नयाँ सिनेमा रिमैको छायांकनको लागि नेपाल आएकी छन् । लामो समयदेखि श्रीमानसँग अमेरिकामा बस्दै आएकी रिमैको कथावस्तुले मन छोएकाले काम गर्न तयार भएर नेपाल आएको बताइन् ।

‘म लामो समय पश्चात फिल्मको पर्दामा फर्किदै छु । लामो त होइन मैले बिचमा क्रसरोड नामक फिल्ममा काम गरेकी थिएँ । त्यो फिल्म अहिलेसम्म पनि प्रदर्शनमा आएको छैन् । त्यसैले गर्दा लामो ग्याप जस्तो देखियो’, उनले भनिन्, ‘विशेषगरी रिमै गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ । अनि फिल्मको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित छु ।’

खिलबहादुर गुरुङको निर्देशनमा निर्माण हुने फिल्म वीरबहादुर घलेले निर्माण गर्दैछन् । फिल्मको असोज २८ गतेबाट गोरखाको सिरानचोकबाट छायांकन सुरु गरिने निर्देशक गुरुङले बताए । फिल्ममा रिश्मासँगै दयाहाङ राई, सौगात मल्ल, कविता आले र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ ।

‘जारी’ र ‘मनसरा’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मको दशैंको घटस्थापनाको दिन औपचारिक रुपमा शुभमुहूर्त गर्दै निर्माणको सुरुवात गरिनेछ ।