ट्रेलरमा पूर्ण बहादुरको सारङ्गी

काठमाडौं । कात्तिक १५ गते रिलिज हुने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ । आज एक कार्यक्रम गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा गन्दर्भ समुदायको पुर्ख्यौली पेसा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई देखाइएको छ । गन्दर्भ भएकै कारण उनीहरुलाई समाजले कसरी भुइँमान्छे बनाइरहेको छ भन्ने कथा ट्रेलरमा देख्न सकिन्छ ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूतलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

फिल्ममा बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।

फिल्म गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा रहेको निर्माता पौडेलले बताए ।

निर्देशक पौडेलले आफूहरूले आफ्नै गाउँ–ठाउँ र माटोको कथा भन्नुपर्छ भनेर यो विषय रोजेको र त्यसको उचित मूल्यांकन हुने अपेक्षा लिएको बताए ।

“हामीले चलचित्रमा जे कुरा भन्दै छौँ र टिजर र ट्रेलरमा जे देखाएका छौं वास्तवमा यो हामी आम निम्न मध्यमवर्गीय परिवारका नेपालीको कथा हो,” निर्देशक पौडेलले भने, “धेरैलाई आफ्नै कथाजस्तो लाग्छ होला, कतिलाई आफ्नै टोल छिमेकमा देखेको विषय र घटना जस्तो आभास हुन्छ होला ।”

संगीतकार प्रशान्त शिवाकोटीले संगीत दिएको चलचित्रमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ ।

फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । निर्माता बिनोद पौडेल, प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।