सेभेन सिजको फिल्म प्रदर्शन नगर्ने चलचित्र संघको घोषणा

काठमाडौं । फिल्म वितरक तथा प्रदर्शकहरुको छाता संस्था नेपाल चलचित्र संघले फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ निर्माण कम्पनी सेभेन सिज सिनेमाले निर्माण गर्ने र वितरण गर्ने कुनै पनि फिल्म प्रदर्शन नगर्ने घोषणा गरेको छ । केही दिनअघि फिल्मका निर्माताले शोमा हलले विभेद गरेको भन्दै सोमबार (आज)बाट प्रदर्शन रोक्ने घोषणा गरेपछि प्रदर्शक र निर्माण पक्षबीच विवाद सुरु भएको थियो ।

निर्माताले फिल्मको प्रदर्शन रोक्ने भए पनि वितरकसँगको सहमति पत्रमा वितरकको अनुमति बिना फिल्म कुनै पनि हलबाट नउतारिने उल्लेख भएपछि निर्माण पक्षले सोमबार फिल्म फिर्ता लिने निर्णय फिर्ता लिएको थियो ।

तर चलचित्र संघले सोमबार बिहान विज्ञप्ती जारी गर्दै फिल्मको निर्माता कम्पनी सेभेन सिज सिनेमाले प्रदर्शन स्थगनको विषयमा स्पष्ट धारणा नराख्दासम्म यो कम्पनीका कुनै फिल्म प्रदर्शन नगरिने जनाएको छ । ‘मंसिर २३ गते सेभेन सिज सिनेमाले ‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन स्थगित सम्बन्धमा जारी विज्ञप्तिमा नेपाल चलचित्र संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जबसम्म सेभेन सिज सिनेमाले यस सम्बन्धमा नेपाल चलचित्र संघलाई आफ्नो धारणा स्पष्ट पार्दैन, तबसम्म सेभेन सिज सिनेमाले निर्माण गर्ने वा वितरण गर्ने कुनै पनि चलचित्र नेपाल चलचित्र संघको सदस्यहरुले प्रदर्शन नगर्ने जानकारी गराउन चाहन्छौं ।’

संघले हलमा प्रदर्शकले वितरकमार्फत मात्र फिल्म प्रदर्शन गर्न पाउने कानुनले व्यवस्था गरेको र यो नियमले प्रदर्शकको व्यवसायको सरोकार वितरकसँग मात्र रहने जनाएको छ । सेभेन सिजले कानुनभन्दा बाहिर गएर संघका सदस्यहरुको मानमर्दन गरेको विज्ञप्तिमा उल्लेख छ । ‘पूर्णबहादुरको सारङ्गी’को उत्साहजनक व्यापारमा प्रदर्शकको पनि महत्वपूर्ण योगदान रहेको संघले विज्ञप्तीमार्फत दाबी गरेको छ ।