काठमाडौं । गायिका पाल्मु शेर्पा हिजो सम्पन्न शेर्पा कलाकार संघको तेश्रो अधिवेशनबाट अध्यक्ष पदमा चयन भएकी छन् । नेपाल शेर्पा संघको भवन काठमाण्डौमा सम्पन्न अधिवेशनले लोकप्रिय गायिका शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
संघको बरिष्ठ उपाध्यक्ष छोङबा शेर्पा, महिला उपाध्यक्ष छोकी शेर्पा, महासचिव सोनतेन्जी शेर्पा, सचिव दाबुटी शेर्पा र कोषाध्यक्षमा पेमा याङजी शेर्पा चयन भएको प्रवक्ता सोनाम याङजी शेर्पाले बताए । त्यसैगरी सदस्यहरुमा दावा शेर्पा, माया शेर्पा, छिरिङ शेर्पा, ङावाङ जी शेर्पा, मिङमा शेर्पा लगायत छनौट भएका छन् ।
पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा निवर्तमान अध्यक्ष कुंगा शेर्पाले संस्थाको प्रगती र आफ्ना कार्यकालमा भएका प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । महासचिव ल्हमु शेर्पाले संघको वर्तमान अवस्था र भावि रणनीति योजना प्रस्तुत गरेका थिए ।
शेर्पा जातिको भाषा, धर्म, संस्कृति, परम्परालाई जगेर्ना गर्दै कलाकारिता मार्फत समाज रुपान्तरणमा लागि परेका कलाकारहरुलाई एकताबद्ध गराई अग्रसरता देखाउने र शेर्पा कलाकारहरुको हकहित र अवसरहरुका लागि पैरवी गर्ने हेतुले सात बर्ष अघि संघ स्थापना भएको थियो ।
अध्यक्षमा निर्वाचित भएपश्चात पाल्मु शेर्पाले कलाकारहरुलाई एकजुट बनाउँदै संस्थागत विकास र कलाकारहरुको उज्वल भविष्यका लागि समेत दीर्घकालिन योजना बनाएर अघि बढ्ने बताएकी छन् ।