काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’को यो थिम संवाद सार्वजनिक गर्दै निर्माणपक्षले नयाँ अफरको घोषणा गरेको छ । थिम संवाद यो फिल्मका मुख्य कलाकार विजय बराल र असोसियट निर्देशक तथा अभिनेता मनिष राउतबीचको हो ।
थिममा रहेको गीत गाएर टिकटक बनाएर पोस्ट गर्नेलाई यो फिल्मको गीत गाउन अवसर दिइने निर्देशन हिमाल न्यौपानेले जानकारी दिए । उत्कृष्ट हुनेले अर्जुन पोखरेलको संगीत रहने गीतमा स्वर दिन सक्नेछन् ।
फिल्म पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको हो । फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । फिल्ममा विजय बराल र मनीष राउत अनुबन्धित भइसकेका छन् ।
फिल्मले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्ने अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याउने परिवर्तनलाई देखाउने निर्देशक न्यौपानेले बताए ।
फिल्मको निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन् ।
नवीन गुरुङको छायांकन रहने फिल्मको क्रिएटिभ निर्देशकमा सम्राट महर्जन (ज्याक) छन् । भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला छन् ।
फिल्म लागि अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिनेछ । फिल्मका गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको रहनेछ ।
निर्देशक न्यौपानेले चैतबाट छायांकन सुरु गर्ने जानकारी दिए । फिल्म २०८२ सालमा रिलिज हुनेछ ।
यस्तो छ थिम संवाद
‘साथी तैँले पनि गाउँ छोड्न लागिस् नि ?’
‘गाउँ नछोडी त सपना पूरा नहुँदोरहिछ साथी’
‘अब तँ कहिले फर्किन्छस् ?’
‘खै थाहा छैन । थाहा छैन । ए सुन त– हिँड्ने बेलामा आमाको आँखाको आँसु पनि हेर्न सकिनँ । कहिले काहीँ आमाकोमा जाइदे है ।’
‘ल। ल।।, तैँले हामीलाई बिर्सिन्छस् होला नि साथी ?’
‘अनि नि साथी मेरो आमालाई भन्दे ! मेरो सपना पूरा नहुज्लेल बुढी नहुनु भन ल ?’
हे आमा म कमाएर गाउँ नफर्किंदासम्म तिमी बुढी नहुनु है ! (भाका हालेर गाउँदै)