काठमाडौँ । चलचित्र विकास बोर्डले हाल प्रदर्शनरत नेपाली फिल्मले गरेको कमाइको विवरण सार्वजनिक गरेको छ । बोर्डले एक सूचना जारी गर्दै यही असार ७ गतेसम्म ‘सिनेपा २ बक्सअफिस’ मा उल्लेख भए अनुसारको विवरण सार्वजनिक गरेको हो । उक्त विवरणअनुसार यसवर्ष हालसम्म प्रदर्शित फिल्ममध्ये सबैभन्दा बढी कमाइ चलचित्र ‘लालीबजार’ ले गरेको गरेको छ ।
बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फिल्म ‘लालीबजार’ ले नेपालमा रु नौ करोड २८ लाख १४ हजार ५०५ कमाइ गरेको छ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको फिल्मको सोही अवधिमा तीन लाख १५ हजार ७१४ टिकट बिक्री भएका छन् ।
गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त फिल्मले घरेलु बजारमा २०८३ सालमा प्रदर्शन भएका सबै फिल्मको तुलनामा आफूलाई निकै अगाडि उभ्याउन सफल भएको छ । उक्त फिल्ममा अभिनेता रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको पनि अभिनय रहेको छ ।
गत जेठ १५ गते प्रदर्शन भएको फिल्म ‘रोल नम्बर १’ ले रु एक करोड ५५ लाख ४६ हजार ६६८ कमाइ गरेको छ । जोन योञ्जनको निर्देशनमा तयार भएको उक्त फिल्मका लागि कूल ५७ हजार १३२ टिकट बिक्री भएका छन् । उक्त फिल्ममा मुकुन भुसाल, शुशाङ्क मैनाली, रेणु योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिञ्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।
यस्तै, गत जेठ १५ नै प्रदर्शन भएको फिल्म ‘कुम्भ’ यसवर्ष अहिलेसम्म प्रदर्शित फिल्ममध्ये सबैभन्दा कम व्यापार गर्नेमा परेको छ । उक्त फिल्मले आइतबार बेलुकीसम्म रु चार लाख २५ हजार ८८५ कमाइ गरेको छ । रणधीर श्रेष्ठले निर्देशन गरेको उक्त फिल्मका लागि कूल एक हजार ८१५ टिकट बिक्री भएका छन् । फिल्ममा अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापालगायत कलाकारहरूको अभिनय रहेको छ ।




