काठमाडौँ । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘कार्की साइँला’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले बुधबार फिल्मको एक आधिकारिक पोस्टर सार्वजनिक गर्दै आगामी असोज २ गतेलाई नयाँ प्रदर्शन मिति तोकेको हो।
यसअघि आगामी साउन १ गतेबाट प्रदर्शन गर्ने तयारी गरिए पनि वितरकसँगको आपसी छलफलपछि प्रदर्शन मिति असोज २ गतेका लागि सारिएको निर्माण टिमले जनाएको छ ।
नयाँ पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य (मुन्नी)लाई रोमान्टिक अन्दाजमा प्रस्तुत गरिएको छ । पोस्टरमा देखिएको उनीहरूको प्रेमिल भावले फिल्म प्रेमकथामा आधारित रहेको अनुमान लगाउन सकिन्छ। नामैबाट ‘कार्की साइँला’ नामका एक भरियाको जीवनी र सङ्घर्षको वरिपरि घुम्ने यस फिल्मको छायाङ्कन पूर्वी नेपालका रमणीय स्थलहरू धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरा लगायतका क्षेत्रमा गरिएको छ।
राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको फिल्ममा सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारको छ। कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताका रूपमा रहेका छन्। त्यस्तै फिल्मको कार्यकारी निर्मातामा अनन्त राई रहेका छन्।
सबिन अधिकारी र शङ्कर धितालले लेखेको यस फिल्ममा मुख्य सहायक निर्देशकको जिम्मेवारी रोजल थापाले निभाएका छन्। डम्बर राईले छायाङ्कन गरेको चलचित्रमा किरण दाहालको द्वन्द्व, दिप्सन लिम्बुको सङ्गीत र सिबी भण्डारीको प्रडक्सन व्यवस्थापन रहेको छ। व्यवसायिक वितरणतर्फ यस फिल्मलाई काठमाडौँ उपत्यकाभित्र काफिया फिल्मस्का तर्फबाट गोविन्द शाहीले र उपत्यकाबाहिर कुबेर फिल्मस्ले बजार व्यवस्थापन गर्ने जिम्मा लिएका छन्।




