कुमारीदेखि हिजो आज भोलिसम्मलाई युनिभर्सल सर्टिफिकेट

काठमाडौं। तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भएका तथा चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्र सङ्ग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका १० ऐतिहासिक नेपाली फिल्मको जाँचपास प्रक्रिया सम्पन्न भएको छ।

जाँचपासा प्रक्रिया भएका फिल्महरुमा ‘कुमारी’, ‘सिन्दुर’, ‘आमा’, ‘बदलिँदो आकाश’, ‘के घर के डेरा’, ‘शान्तिदीप’, ‘जीवनरेखा’, ‘मनको बाँध’, ‘परिवर्तन’ र ‘हिजो आज भोलि’ छन् ।

जाँचपास प्रक्रिया पूरा भएका सबै फिल्मले सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेका छन्। उक्त फिल्महरूको जाँचपाससम्बन्धी पत्र तथा प्रमाणपत्र उदयबहादुर राणाले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीलाई हस्तान्तरण गरे ।

यी फिल्म यसअघि नै डिजिटाइज गरी चलचित्र विकास बोर्डको सङ्ग्रहालयमा सुरक्षित राखिएको भए पनि जाँचपास प्रक्रिया भने पूरा भएको थिएन। प्रचलित कानुनी व्यवस्थाअनुसार जाँचपास प्रमाणपत्र प्राप्त नगरी कुनै पनि फिल्मलाई नेपालमा सार्वजनिक रूपमा प्रदर्शन गर्न पाइँदैन ।

जाँचपास प्रक्रिया सम्पन्न भएसँगै अब यी ऐतिहासिक फिल्मलाई चलचित्र महोत्सव, विशेष प्रदर्शनी, शैक्षिक कार्यक्रम तथा अन्य सार्वजनिक समारोहमा प्रदर्शन गर्ने बाटो खुलेको छ।