‘पार्वतीमा अनगिन्ती पार्वतीहरुको आवाज’

काठमाडौँ । अभिनेत्री नीता ढुंगाना यतिबेला उनको डेब्यू निर्देशकीय फिल्म ‘पार्वती’ मा निभाएको अटिजम चरित्रका कारण चर्चामा छिन् । भलै यो फिल्म भदौ १२ गते रिलिज हुँदैछ । तर फिल्मको सार्वजनिक टिजरले नीताको भूमिकामाथि दर्शकमाझ कौतुहलता पैदा गरेको छ ।

नीताले एक अटिजम पीडितको भावभंगी, हाउभाउ र भाइप्रतिको निश्चल मायालाई देखाइरहँदा दर्शकको त्यो कुरामा चासो देखाएका छन् ।नीता कथा र पात्र अनुसार आफूलाई पूर्ण रूपमा रूपान्तरण गर्न माहिर मानिन्छिन् । ‘किसान’, ‘मसान’, ‘नोटबुक’, ‘छ एकान छ’ लगायत दर्जनौँ हिट फिल्ममार्फत दर्शकको मन जितिसकेकी नीताले सात वर्षअघिको फिल्म ‘पञ्चायत’ मा वि.सं. २०३३ सालको एक अबोध किशोरीको भूमिकामा उत्कृष्ट अभिनय गरेकी थिइन्।

फिल्म ‘पार्वती’ केवल एउटा सिनेमा मात्र नभई आफ्नै समाजको वास्तविक चित्र भएको नीता बताउँछिन्। आफैँले समाजमा देखेका र भोगेका पात्रहरूको कथालाई पर्दामार्फत प्रस्तुत गर्न पाउँदा उनी निकै उत्साहित छिन् । ‘आफ्नै समाजको कथा, धेरै पार्वतीहरूको व्यथा र मौन पीडामा बाँचिरहेका अनगिन्ती पार्वतीहरूको आवाज बनेर आउँदैछ ‘पार्वती’,’ नीता भन्छिन्।