यूकेमा हली सोल्ड आउट

काठमाडौं । भोलि शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘हली’युकेमा सोल्ड आउट भएको छ। निर्माण टिम र त्यहाँको वितरक सपन इन्टरटेनमेन्ट लिमिटेडबीच प्रदर्शन अधिकारका लागि सम्झौता भएसँगै सोल्ड आउट भएको हो।

फिल्म आगामी सेप्टेम्बर २० तारिखमा अल्डरशटस्थित प्रिन्सेस हलमा प्रदर्शन हुँदैछ । यो शोका लागि टिकटहरू बिक्री थालिएको हो। फिल्मका निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले आफ्नो फिल्म युकेमा प्रदर्शनका लागि बिक्री भइसकेको जानकारी दिए।

हिट निर्देशक ओम प्रतीकले निर्देशन गरेको यो फिल्ममा व्यवसायी पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेका हुन् । फिल्मले नेपालमा चलेको छाउपडी प्रथाको कथालाई उठाएको छ । फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक ओम प्रतीक स्वयंको मुख्य अभिनय रहेको छ।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको यस फिल्ममा राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न सकिन्छ।

निर्माता जश्मिन श्रेष्ठको शब्द, बाबुल गिरीको संगीत तथा गायक बाबुल गिरी र गायिका शान्ति श्री परियारको स्वर रहेको गीत चलचित्रमा समावेश छ। गीतको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका हुन्।

फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्दैछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।