काठमाडौं । चलचित्र विकास बोर्डले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि आकस्मिक बैठक बसेर पाँच महत्वपूर्ण निर्णय गरेको छ।
बिहीबार बिहान ११ बजे बोर्ड अध्यक्ष दिनेशराज दाहाल (दिनेश डीसी) को अध्यक्षतामा बसेको बैठकले बाढीबाट प्रभावित फिल्मकर्मीको तत्काल विवरण संकलन गर्ने, आवश्यक राहत उपलब्ध गराउन पहल गर्ने तथा फिल्म क्षेत्रलाई विपद् सहयोग अभियानमा परिचालन गर्ने निर्णय गरेको हो ।
बोर्डले बाढीबाट जनधनको क्षति व्यहोरेका फिल्मकर्मीहरूको विवरण एकीकृत गरी चलचित्र विकास बोर्डमा उपलब्ध गराउन फिल्मकर्मीका पेशागत संघरसंस्था तथा सरोकारवालालाई अनुरोध गर्ने निर्णय गरेको छ।
प्रभावित फिल्मकर्मीलाई सहयोग गर्न चलचित्रकर्मी कल्याणकारी कोषको अवस्था हेरी राहत उपलब्ध गराउने पहल समेत गरिने भएको छ ।
त्यस्तै, बाढीपीडितको सहयोगार्थ च्यारिटी शो आयोजना गर्न फिल्मकर्मी संघरसंस्थालाई फिल्म उपलब्ध गराउने र च्यारिटी शोबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सहयोग गर्ने निर्णय गरिएको छ।
विपद्को संवेदनशील घडीमा अनावश्यक भ्रम, त्रास तथा तथ्यहीन सूचना फैलिन सक्ने भन्दै बोर्डले फिल्म क्षेत्रका संघरसंस्थालाई संयमता अपनाउन, उद्धार तथा राहतमा हातेमालो गर्न र जनचेतनामूलक सामग्री निर्माण तथा प्रचार–प्रसार गर्न समेत आग्रह गर्ने भएको छ।
बोर्ड अध्यक्ष दिनेश डीसीले आफ्नो आधा महिनाको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी सहयोग गर्ने निर्णय गरेका छन्।






