इट इज माइ ट्यालेन्टको विजेता बने आश्विन

काठमाडौं । इट इज माइ ट्यालेन्ट नेपाल सिजन–१ को अगस्त महिनाको बिजेता आश्विन पौडेल घोषित भएका छन् । आफूमा निहीत गायन, अभिनय, नृत्य, वाक कला लगायतका कुनै पनि बिधामा अनलाइन माध्यमबाटै प्रतिस्पर्धा गर्न पाइने ब्यबस्था गरिएको युट्युव शोमा हरेक महिना उत्कृष्ट घोषित हुने एक जना प्रतिभाले नगद रु ५० हजार रुपैयाँ पुरस्कारका साथमा प्रमाणपत्र तथा विशेष अन्तर्वार्ताको अवसर प्राप्त गर्दछन् । गत जुलाइमा गिनिज अधिकारी बिजेता घोषित भएका थिए ।

गायनमा आफ्नो प्रतिभा प्रदर्शन गरेका आश्विनको प्रस्तुतिले दर्शक स्रोताको मन जितेको छ । उनको प्रस्तुतिले दर्शकबाट १०६९ लाइक, ४७९० भ्युज र ६९२८ पोइन्ट प्राप्त गरि बिजेता बनेको आयोजक आईआईएमटी नेपालले जनाएको छ ।

मोबाइल, क्यामेराको माध्यमबाट घरबाटै आफूमा निहित प्रतिभा खिचेर प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाइने आईआईएमटीमा प्रतियोगीले भौतिक रुपमा उपस्थित हुनु पर्दैन । डिजिटल माध्यमबाट देशभरका प्रतिभालाई समान,निष्पक्ष र लोकतान्त्रिक अवसर प्रदान गर्ने उद्धेश्य राखिएको प्रतियोगीतामा इच्छुक जो कोहीले देशको जुनसुकै स्थानबाट पनि भिडियो पठाउन सक्दछ।

प्राप्त प्रस्तुतिहरू आईआईएमटीका निर्धारित मापदण्डअनुसार समीक्षा गरेर आधिकारिक डिजिटल मञ्चमा सार्वजनिक गरिने र दर्शकको छनौट र मतअनुसार बिजेता घोषणा गर्ने प्राबधान राखिएको आयोजक संस्थाले जनाएको छ ।