काठमाडौं । आगामी असोज ९ गते नेपाली बक्सअफिसका लागि एउटा नयाँ रोचक भिडन्त हुने भएको छ । नेपाली फिल्ममा विशेषत एक्सनका लागि चिनिएका अभिनेता निखिल उप्रेतीको फिल्म आचार्य र फरक चरित्रमा आफूलाई स्थापित गरेका अभिनेता दिव्यदेव पन्तको फिल्म ‘बाः एक योद्धा’को प्रतिष्पर्धा असोज ९ गते हुने भएको छ ।
यसअघि ‘बाः एक योद्धा’ भदौ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा थियो । तर भोटेकोशी बाढीका कारण जनाउँदै यो फिल्म मंसिर २४ गते प्रदर्शन गर्ने निर्माण पक्षले घोषणा नै गरेको थियो । तर शुक्रबार कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर असोज ९ गते फिल्म रिजिजको घोषणा गरिस्एको हो ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको यो फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।
यता निखिल उप्रेतीले यसअघि नै आफ्नो फिल्मलाई असोज ९ गते दर्शकमाझ ल्याउने घोषणा नै गरिसकेका छन् ।







