आइतबारदेखि बेलायतमा हली

काठमाडौँ। फिल्म ‘हली’ अब बेलायतमा पनि प्रदर्शन हुने भएको छ। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको यो फिल्म आगामी असोज ४ गते बेलायतको अल्डरशटस्थित प्रिन्सेस हल मा विशेष प्रदर्शनीका रूपमा देखाइने भएको हो।

बेलायतस्थित आयोजक संस्था सपन इन्टरटेनमेन्ट लिमिटेडका अनुसार प्रदर्शनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। युकेमा रहेका नेपाली दर्शकहरूलाई लक्षित गर्दै त्यहाँका दर्शकलाई फिल्म को कथासँग जोड्न यो विशेष प्रदर्शनी आयोजना गर्न लागिएको निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठले बताए ।

ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको यस फिल्मले छाउपडी प्रथाका कारण बालिकाहरूले भोग्नुपरेको सामाजिक पीडा र दुर्व्यवहारलाई मुख्य विषयवस्तु बनाएको छ।

फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक स्वयं ओम प्रतीक रहेका छन् ।

फिल्ममा अर्जुन भुसाल कार्यकारी निर्माता, नम्रता भण्डारी सह(निर्मात्री, लक्ष्मण कर्माचार्य लाइन प्रोड्यूसर र जीवननाथ गौतम मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। फिल्ममा राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ।