काठमाडौं । हास्य विधामा आधारित रियालिटी शो ‘कमेडी च्याम्पियन’को चौथो सिजन प्रसारण सुरु भएको छ । शो असोज ३ गतेदेखि संविधान दिवसको अवसर पारेर प्रसारणमा आएको हो ।
शोको ग्रान्ड प्रिमियर स्वरुप पहिलो एपिसोड सार्वजनिक भइसकेको छ । शोको पहिलो एपिसोड हिमालय टेलिभिजनबाट राति ९ बजे तथा ओएसआर रियालिटीको युट्युब च्यानलबाट प्रसारण भएको थियो । पहिलो एपिसोडमा अभिनेता दीपकराज गिरी र अभिनेत्री केकी अधिकारी अतिथीका रुपमा पुगेका थिए ।
सिजन १, २ र ३ मा जज रहेकी ऋचा शर्मा भने निरन्तर छिन् । अन्य तीन जज मनोज गजुरेल, सन्तोष पन्त र प्रदीप भट्टराईको स्थानमा जितु नेपाल, बुद्धि तामाङ र शोका निर्देशक विशाल भण्डारी जोडिएका छन् ।
तीनवटै सिजनमा एउटै जज प्यानल रहँदा जोकको प्याटर्न र इनसाइड जोकहरू पनि उस्तै हुँदै गएकाले यसपटक केही भेरिएसन ल्याउन जज प्यानल परिवर्तन गरिएको निर्देशक भण्डारीले बताएका छन् ।
कार्यक्रम सञ्चालकमा मेक्सम गौडेल निरन्तर छन् भने रीमा विश्वकर्मा सांसद बनेपछि उनको स्थानमा नम्रता श्रेष्ठलाई ल्याइएको छ । निर्देशक भण्डारीका अनुसार चौथो सिजन करिब ३० एपिसोडसम्म सञ्चालन हुनेछ । थ्री प्रोडक्सन टिमको प्रस्तुति रहेको शोका प्रमुख कार्यकारी निर्माता सगुन पाण्डे हुन्।








