चमेलीको पोइ ट्रेलरमा पोइ बन्ने रस्साकस्सी

काठमाडौं । फिल्म ‘चमेलीको पोइ’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको फिल्मको पौने चार मिनेट लामो ट्रेलरमा मायाप्रेम,आसक्ति,दाम्पत्य जीवनमा आउने उतावचढाव,बिश्वासघात र मानवीय सम्बन्धका बान्कीहरु प्रस्तुत गरिएको छ । फिल्म असोज १६ गतेबाट देशब्यापी प्रदर्शनमा आउदैछ ।

निर्देशक बोहराले फिल्म विशुद्ध मनोरञ्जनात्मक भएको बताए । करिब १८ बर्षको अन्तरालपछि यही फिल्मबाट ठूलो पर्दामा पुनरागमन गरेका हाँस्य अभिनेता नारायण त्रिपाठीले फिल्मबाट आफू निकै आशावादी भएको बताए । उनले अमेरिकामा आयोजित बिशेष शोहरुबाट दर्शकको माया र साथ पाएकाले आफू अझ उत्साहीत भएको सुनाए । उनी दुई दशकअघिसम्म ‘प्रेमचरो’ को उपनामले फिल्म तथा सानो पर्दामा निकै चर्चित रहे ।

अभिनेता मुकुन भुषलले ले फिल्मले बेजोड हसाउनुका साथै केही ठाउँमा राम्रैसँग सिरियस बनाउने बताउदै यत्तिको कमेडी फिल्म आफूले यसअघि गर्न नपाएको खुलाए । अर्का अभिनेता विल्सन बिक्रम राईले हाँस्य अभिनेता नारायण त्रिपाठीसँग बच्चाबेलामा ‘साथी’ फिल्ममा ‘स्क्रिन शेयर’ गरेको स्मरण ताजा गरेका थिए । यही फिल्मबाट ठूलो पर्दाको यात्रा सुरु गरेका उमेश राई (फुलन्देकी आमा) ले आफू निकै आशावादी रहेको बताए ।

अभिनेत्री सुरक्षा पन्तले निर्देशक बोहरासँग ‘भैरे’ पछि दोश्रो सहकार्य गरेको उल्लेख गर्दै ‘चमेलीको पोइ’ आफूले खोज–चाहेको जस्तै कथा,परिबेश,पात्र र चरित्रमा अभिनय गर्न पाएकोमा कृतज्ञता ज्ञापन गरिन् ।

निर्माता रामनारायण उपाध्यायले आफूहरुले उत्कृष्ट फिल्म बनाउन कुनै कसर बाँकी नराखेको बताए । शेरबहादुर तामाङले खिचेको फिल्मको लेखनमा निर्देशन वोहरालाई शिवम अधिकारीले सघाएका छन् ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा, मुकुन, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम,उमेश राई (फुलन्देकी आमा),अंशु महर्जन, बाबिन राई, तारा शर्मा,खड्गबहादुर पुन (खबपु),रजनी गुरुङ, सुनीता सापकोटा, मीना आरएल शाही, रितु मल्ल ठकुरी,श्रेया नारायण लगायतको अभिनय छ ।

सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा उदयविक्रम राणा, रितु मल्ल ठकुरी,सुमीत्रा थापा र कपिल आचार्य छन्। धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर,नारायण त्रिपाठी,प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली र सुदीप कुँवर सह(निर्माता रहेको फिल्मका गीतमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत,कविराज गहतराजको कोरियोग्राफी अनि कुमार महर्जनको द्वन्द्व निर्देशन छ। फिल्मलाई आरआर फिल्मस्ले देशब्यापी बितरण गर्दैछ ।