काठमाडौं । अभिनेता निखिल उप्रेतीको होम प्रोडक्सनले निर्माण गरेको फिल्म ‘आचार्य’ यतिबेला ट्रेलरका कारण चर्चामा छ । निखिलको एक्सन अवतार देखाइएको ट्रेलरले नेपालमा मात्र होइन भारतमा पनि उत्तिकै चर्चा पाइरहेको छ । यही शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरलाई दक्षिण भारतदेखि भारतका अन्य फिल्म क्षेत्रसम्म नेपाली फिल्मको बदलिँदो स्तरबारे चर्चा हुन थालेको निर्माण पक्षले जनाएको छ ।
भारतीय फिल्म पत्रकार तथा दर्शकले नेपाली फिल्म पछिल्ला वर्षमा प्राविधिक तथा प्रस्तुतिका हिसाबले धेरै अगाडि बढेको उल्लेख गर्दै अब नेपाली फिल्मलाई भारतीय फिल्मको अनुकरण गर्ने उद्योगका रूपमा मात्र हेर्न नहुने र नेपाली फिल्म आफ्नै पहिचानसहित अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सफल अवस्थामा रहेको बताएका छन् ।
भारतीय कलाकार रघुबाबुले भारतका विभिन्न फिल्म स्टुडियो तथा प्रोडक्सन हाउसमा समेत ‘आचार्य’ र निखिल उप्रेतीबारे चर्चा भइरहेको बताएका छन् । फिल्ममा निखिलकै निर्देशन छ ।








