दाङबाट पुष्प र प्रशंसाको सिन्दुर सुरु

काठमाडौं । कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने यूनिभभर्स प्रालिको सहकार्यमा निर्माण हुन लागेको नयाँ फिल्म ‘सिन्दूर’को छायांकन शुक्रबारदेखि दाङबाट सुरु भएको छ ।

लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहेको फिल्ममा सञ्जीव सार्की निर्माता छन् । लक्ष्मण निर्देशित यसअघिका दुई फिल्म ‘बुलाकी र परालको आगो’ चर्चामा थिए । फिल्मका कार्यकारी निर्माता दिनेश सिंह महरा हुन् ।

संकल्प भुजेलको छायांकन रहने फिल्ममा प्रशान्त सिवाकोटी, श्रीकृृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ । प्रकाश हमाल निर्माण प्रमुख रहेको फिल्ममा करण बहादुर साउदको मुख्य सहायक निर्देशन, रामजी लामिछानेको नृत्य निर्देशन हुनेछ ।

फिल्ममा पुष्प खड्का र नायिका प्रशंसा रायमाझीको अनस्क्रिन रोमान्स हुनेछ । फिल्मको छायांकन एक महिनासम्म चल्ने निर्माण पक्षले जनाएको छ । निर्देशक सुनारका अनुसार फिल्मले एक महिलाका लागि सिन्दूरको महत्व कति हुन्छ भन्ने कथा देखाउनेछ ।