हङकङमा सम्मान पाउँदा भावुक बने पल शाह

काठमाडौँ । आगामी असोज ३० गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आ बाट आमा २’ को अन्तिम छायांकनका क्रममा हङकङ पुगेको फिल्मको टिमलाई सम्मान गरिएको छ। हङकङमाको खुसी इभेन्टस्ले एक औपचारिक ‘मिट एन्ड ग्रीट’ आयोजना गरी फिल्मका निर्देशक चन्द्र पन्त, मुख्य अभिनेता पल शाह र अभिनेत्री रिश्ता गुरुङलाई सम्मान गरेको हो ।

उनीहरुलाई गुरुङ संस्कृति तथा परम्परा अनुसार फेटा गुथाएर, खादा, पुष्पगुच्छा तथा मायाको चिनो प्रदान गरिएको थियो। हङकङमा फिल्मको सम्पूर्ण छायांकन व्यवस्थापन तथा लाइन प्रोडक्सनको जिम्मेवारी सम्हालिरहेको खुसी इभेन्टसका निर्देशक खुसी गुरुङले आगामी दिनमा पनि प्रवासमा हुने नेपाली फिल्मका छायांकन तथा अन्तर्राष्ट्रिय शोहरूमा निरन्तर सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

अभिनेता पल शाहले प्रवासमा रहेर पनि नेपाली फिल्म र मौलिक संस्कृतिप्रति देखाइएको समर्पणले आफूलाई भावुक र उत्साहित बनाएको बताए । ‘हङकङमा बसेर नेपाली फिल्म, भाषा र संस्कृतिलाई यसरी माया गर्नु, आत्मसाथ गर्नु र हामीलाई सम्मान दिनुले निकै ठूलो हौसला मिलेको छ। यहाँ मेरा फिल्महरू सधैँ ऊर्जाका साथ चल्ने गरेका छन्, हङकङबासी दर्शकको यही आत्मीय साथले मलाई अभिनय यात्रामा अझ उत्कृष्ट काम गर्न थप बल र प्रेरणा दिएको छ।’ उनले भने ।

निर्देशक चन्द्र पन्तले छायांकनको व्यस्त तालिकाका बीच प्रवासमा प्राप्त यो आत्मीय सम्मानप्रति खुसी इभेन्टस् र हङकङबासी दर्शकप्रति हार्दिक आभार प्रकट गरे ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मको हङकङ सेड्युल सम्पन्न गरी टिम छिट्टै नेपाल फर्किएर अन्तिम पोस्ट–प्रोडक्सनको काम टुंग्याउने तयारीमा छ।