काठमाडौं । फिल्म ‘पाँच पाण्डव’को ट्रेलर–१ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक ट्रेलरमा स्वर्गबाट पृथ्वीमा आएको बताउने युधिष्ठिरलेले भीम, अर्जुन, नहकुल र सहदेव खोजिरहेको देखाइएको छ । फिल्ममा अभिनेता हरिवंश आचार्य युधिष्ठिरको भूमिकामा छन् ।
पृथ्वी अवलोकनका क्रममा आन्दोलन, दमन, यातना, अपराधलाई नजिकबाट देखेका युधिष्ठिर पनि सुन्दर युवतीमा आकर्षित हुन्छन् भन्ने देखाइएको छ । बसन्त निरौलाको निर्देशन रहेको फिल्म तिहारको छेको पारेर कार्तिक २० गते रिलिज हुँदैछ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् । त्यसैगरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ ।
यो फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता काली रानी श्रेष्ठ हुन् । फिल्ममा कथा, पटकथा तथा संवाद सुशील पौडेलको छ । श्याम तामाङको छायांकन रहेको फिल्ममा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी छ । फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।







