काठमाडौं । बडादशैँको अवसर पारेर भोलिदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आ बाट आमा २’ ले देशभरका मल्टिप्लेक्सहरूमा आक्रामक अग्रिम बुकिङ पाएको छ । प्रदर्शनको अघिल्लो दिन बिहीबारसम्म देशभरका सिनेमाघरहरूले फिल्मलाई २०० भन्दा बढी शो बाँड्दै टिकट बुकिङ खुला गरेका छन्।
विशेषगरी काठमाडौँ उपत्यकाका मुख्य मल्टिप्लेक्सहरू बिग मुभिज, एफक्युब सिनेमाज, वान सिनेमाज, सिभिल मल, सिने रोयल नेपालगंज लगायतका हलहरूले चलचित्रलाई उच्च शो संख्याका साथै दर्शकको सर्वाधिक रोजाइमा पर्ने प्राइम टाइमका आकर्षक शोहरू उपलब्ध गराएका छन् ।
उपत्यकाबाहिर मोफसलका प्रमुख व्यापारिक केन्द्रहरू पोखरा, बुटवल, नारायणगढ, नेपालगन्ज र धरान लगायतका सहरहरूमा समेत अग्रिम टिकट बुकिङ निकै उत्साहजनक छ। सडक कन्सर्ट र प्रचारप्रसारका क्रममा मोफसलमा देखिएको जनसागर हलको टिकट काउन्टरसम्मै आएको हल सञ्चालकहरूको भनाइ छ।
चन्द्र पन्तको निर्देशनमा विपना थापा, पल शाह, मलिका महत, स्वर्गीय प्रदीप रावत, साइग्रेस पोखरेल, नरेन खड्का लगायतका कलाकारहरूको अभिनय रहेको छ ।







