क्युएफएक्समा कबड्डी ५ सुपरहिट

काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’लाई देशकै ठूलो मल्टिप्लेक्स क्युएफएक्स सिनेमाजले सुपरहिटको ट्याग दिएको छ । क्युएफएक्सले फिल्म रिलिजको तेस्रो दिन अर्थात् आज आइतबारदेखि नै सुपरहिटको ट्याग दिएको हो ।

यो फिल्म देशका प्रमुख ९ सहरमा रहेका क्युएफएक्सका १७ वटा हलमा उच्च शोका साथ प्रदर्शन भइरहेको छ । ती सबै हलमा दुई दिनमै फिल्मले डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएपछि तेस्रो दिन क्युएफएक्सले सिनेमालाई सुपरहिटको ट्याग दिएको हो ।

क्युएफएक्सले आज उपत्यका र उपत्यकाबाहिरका हलमा ७० भन्दा बढी शो दिएको छ । देशैभर ३ सय भन्दा बढी शो पाएको निर्माण टिमले जनाएको छ ।गत कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले सुरुवाती देखिदेखि नै आक्रामक व्यापार गरिरहेको छ ।

फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपीन कार्की, रिश्मा गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्माता छन् ।